दार्चुलामा विदेशी मुद्रा र स्रोत नखुलेको रकम सहित एक युवक पक्राउ




दार्चुला, १ कात्तिक– दार्चुलामा विदेशी मुद्रा र स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महाकाली नगरपालिकाको बाङ्गाबगर क्षेत्रबाट दार्चुलाको दुहु गाउँपालिका–१ पिपलचौरी बस्ने ३० वर्षीय तेजबहादुर बमलाई पक्राउ गरेको हो । उनलाई असोज २९ गते पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले शंकाको आधारमा बममाथि चेकजाँच गर्दा अवैध विदेशी मुद्रा र स्रोत नखुलेको रकम बरामद भएको जानकारी दिए । उनका अनुसार थापाको साथबाट २ लाख ४६ हजार ५ सय नेपाली रुपैयाँ, ४९ हजार ९ सय ५० भारतीय रुपैयाँ, २ थान मलेसियन रिङ्गेट, १ हजारको १ थान इराकी डिनार, १ थान चिनियाँ युआन बरामद भएको छ ।


उनीविरुद्ध विदेशी विनिमय अपचलन शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।



