धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी, विद्यार्थीलाई व्यवहारिक सिप सिकाइँदै

धनगढी- धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरू शुक्रबारका दिन किताब नबोकी विभिन्न व्यवहारिक सिप सिक्न विद्यालय पुग्ने गरेका छन्।

हाल धनगढी–९ स्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू मोबाइल बनाउने तथा मर्मत गर्ने तालिममा व्यस्त छन्। विद्यार्थीहरू स्क्रु ड्राइभर, सर्किट बोर्ड तथा मोबाइलका विभिन्न पार्ट्स प्रयोग गर्दै व्यावहारिक ज्ञान आर्जन गरिरहेका छन्।

Navadurga sun

छोटो समयमै विद्यार्थीहरूले मोबाइल रिपेयरिङसम्बन्धी आधारभूतदेखि जटिल सीपहरू—जस्तै डिस्प्ले परिवर्तन गर्ने र मदरबोर्ड मर्मत गर्ने—सिकिसकेका छन्।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत घुम्मनसिंह बडायकले विद्यार्थीहरूलाई सानैदेखि व्यवहारिक सिपसँग जोड्नु आवश्यक भएको बताए। उनका अनुसार कार्यक्रमले विद्यार्थीहरूको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पारेको छ।

प्रशिक्षकहरूका अनुसार विद्यार्थीहरूमा सिक्ने इच्छा र लगनशीलता उच्च देखिएको छ भने सिकेका सीपलाई भविष्यमा व्यवसायमा रूपान्तरण गर्न सक्ने सम्भावना पनि रहेको छ।

विद्यार्थीहरूले पनि यस तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘बुक फ्रि फ्राइडे’ कार्यक्रमले परम्परागत शिक्षण प्रणालीभन्दा बाहिर गई व्यवहारिक ज्ञान र सीप विकासमा जोड दिएको छ। यसअघि ठेकराज माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रम यस वर्ष भवानी माध्यमिक विद्यालय र शिद्धनाथ माविमा विस्तार गरिएको छ।

स्थानीय तहको यस्तो पहलले शिक्षा र रोजगारीबीचको दूरी घटाउँदै विद्यार्थीहरूलाई सक्षम र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...