धनगढी- प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेको छैन। पर्याप्त पूर्वाधारको अभाव, प्रभावकारी प्रचार–प्रसार नहुनु तथा नीतिगत अस्पष्टताका कारण पर्यटकको आगमन न्यून देखिएको हो।


विज्ञहरूका अनुसार प्रदेशमा भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक सम्पदाको धनी भए पनि पर्यटन विकासमा ठोस उपलब्धि हासिल हुन सकेको छैन। विभिन्न तहका सरकारले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या झन् जटिल बनेको बताइएको छ।


पर्यटन व्यवसायी शिवहरि पाण्डे ले अधिकांश गन्तव्यमा न्यूनतम पूर्वाधारसमेत नपुगेको र अन्तर्राष्ट्रिय पर्यटकका लागि ‘कनेक्टिभिटी’ समस्या रहेको बताए। उनका अनुसार पर्यटन क्षेत्रको ब्रान्डिङ र समयानुकूल प्रचारको अभावले पनि पर्यटक आकर्षित गर्न नसकिएको हो।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन एकाइ प्रमुख डबल रावल का अनुसार चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ र विभिन्न योजना कार्यान्वयनको चरणमा छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सीमानाकाबाट दुई लाख ५९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। तर तीमध्ये अधिकांश पर्यटक सुदूरपश्चिममा बसाइँ नगरी काठमाडौँ, पोखरा, मुस्ताङजस्ता गन्तव्यतर्फ जाने गरेका छन्।
प्रदेशमा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बडिमालिका मन्दिर र घोडाघोडी ताल जस्ता महत्वपूर्ण पर्यटकीय स्थल भए पनि आवश्यक प्रचार र पूर्वाधार विकासको कमी देखिएको छ।
सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ नीति लिँदै धार्मिक पर्यटन सर्किट निर्माण, पर्यटकीय क्षेत्रको विकास तथा केबुलकार स्थापना अध्ययनजस्ता कार्यक्रम अघि बढाएको जनाएको छ।
विशेषज्ञहरूले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार सुधार, प्रभावकारी प्रचार–प्रसार, नीतिगत स्पष्टता र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको औंल्याएका छन्।





