

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा करिब ५३ हजार ९७३ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षा चैत १९ गतेदेखि सुरु हुने तय भएको छ ।


शिक्षा विकास निर्देशनालयका अनुसार नियमिततर्फ ४० हजार ९७३, प्राविधिक धारतर्फ १ हजार ७७८ र ग्रेड वृद्धितर्फ ११ हजार ४८५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।



जिल्लागत रूपमा सबैभन्दा धेरै परीक्षार्थी कैलालीबाट १८ हजार २७८ रहेका छन् भने कञ्चनपुरबाट १० हजार ८९७ विद्यार्थी सहभागी हुनेछन् । अन्य जिल्लामा बैतडी, अछाम, डोटी, दार्चुला र बझाङमा पनि उल्लेख्य संख्यामा विद्यार्थी परीक्षा दिँदै छन् । सबैभन्दा कम बाजुराबाट २ हजार ४२६ परीक्षार्थी रहेका छन् ।
परीक्षा सञ्चालनका लागि प्रदेशभर २२१ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा व्यवस्थापनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, प्रहरी तथा अन्य सहयोगी गरी हजारौं जनशक्ति परिचालन गरिनेछ ।
निर्देशनालयका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ ।