पत्रकार सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न 

धनगढी- एएचएफ नेपालको आर्थिक सहयोगमा स्वास्थ्य निर्देशनालय डोटीले सोमवार कैलालीको धनगढीमा मिडियासँग अन्तरक्रिया कार्यक्रमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा पत्रकार लगायत स्वास्थ्य सँग सरोकार राख्ने सरकारी निकायका प्रतिनिधिको पनि उपस्थिती रहेको थियो । 

राष्ट्रिय तथा सुदूरपश्चिम प्रदेशमा एचआईभीको वर्तमान अवस्था, जोखिम समुह, सेवा उपलब्धता तथा चुनौतीहरुको बारेमा सञ्चार माध्यम मार्फत जानकारी गराउने उद्देश्यले धनगढीमा मिडिया सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 

Navadurga sun
Godawari sandesh

अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन मनोज ओझाले सुदूरपश्चिममा एचआईभीको वर्तमान अवस्था, जोखिम समूह, उपलब्ध सेवा तथा चुनौतीहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो ।  

प्रस्तुतिकरणमा सुदूरपश्चिम प्रदेशलाई उच्च प्रभावित क्षेत्रको रूपमा उल्लेख गर्दै विशेषगरी भारतमा हुने वैदेशिक रोजगारी (माइग्रेशन) का कारण संक्रमणको जोखिम उच्च रहेको बताइएको थियो । भारत जाने श्रमिक, उनीहरूका जीवनसाथी, महिला यौनकर्मी, लागुऔषध प्रयोगकर्ता तथा समलिंगी पुरुष प्रमुख प्रभावित समूहका रूपमा पहिचान गरिएका छन् । 

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशमा १९ वटा एचआइभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र, ३ वटा भाइरल लोड परिक्षण केन्द्र तथा टिभि एचआइभी एकीकृत सेवा उपलब्ध रहेको जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिममा प्रदेशमा हाल ३ हजार ८१२ जना एचआईभी संक्रमितहरू रहेका छन् । 

अन्तरक्रिया कार्यक्रममा एएचएफ नेपालले गरिरहेको कार्यको बारेमा पनि जानकारी गराइएको थियो । एएचएफ नेपालले एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । एएचएफ एक अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वका ५० देशहरूमा एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालमा एएचएफले १९ वटा एआरटी केन्द्रहरू तथा २ वटा सीमा नाकाहरूमा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशमा ४ वटा एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको छ । यसका अतिरिक्त एएचएफले समुदायस्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम, परीक्षण सेवाको विस्तार, तथा गुणस्तरीय औषधि र उपचार सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कार्यक्रममा सहभागी मिडियाकर्मीहरूले एचआईभी रोकथाम, परीक्षण सेवाको विस्तार, उपचारमा पहुँच तथा समाजमा रहेको लान्छना र भेदभाव न्यूनीकरणका विषयमा जिज्ञासा तथा सुझावहरू राखेका थिए । अतिथिहरूले मिडियाको भूमिका सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा एचआईभी सम्बन्धी लान्छना र भेदभाव न्यूनीकरणमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता सामाजिक विकास मन्त्रालय नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश मलासीले गर्नुभएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक, प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष, सेती एआरटी  केन्द्र सम्पर्क  व्यक्ति तथा मिडिया प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । 

Loading...