अत्तरिया चोकमा दीर्घकालीन समाधानका लागि ढल निकास निर्माण सुरु

अत्तरिया- कैलालीको अत्तरिया बजार क्षेत्रमा वर्षायाममा पानी जम्ने समस्या समाधान गर्ने उद्देश्यले नयाँ ढल निकास निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरिया चोकमा नाली निर्माणको शिलन्यास गर्दै निर्माण कार्यको उद्घाटन गरेका हुन्।

नगर प्रमुख भट्टका अनुसार अत्तरिया चोकमा वर्षायाममा पानी जम्ने समस्या लामो समयदेखि स्थानीय बासिन्दाका लागि चुनौती बन्दै आएको थियो। निर्वाचनका कारण रोकिएको काम अहिलेबाट पुनः सुरु गरिएको उनले बताए। अत्तरिया चोकदेखि पूर्वतर्फसम्म पानी निकासको स्तरअनुसार व्यवस्थित र दिगो नाली निर्माण गरिने उनले जानकारी दिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सडक विभागसँग पटक–पटक अनुरोध गरेपछि ७२ लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अघि बढाइएको हो। संघीय सरकारको ‘रातो किताब’मा कञ्चनपुरको गड्डा चौकीदेखि अत्तरिया सम्मको सडक निर्माणका लागि २२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी पनि नगर प्रमुख भट्टले दिए।

अत्तरिया चोकको ढल निकास निर्माणको ठेक्का पाएको सप्तऋषि कन्ट्रक्सनका निर्माण व्यवसायी परशुराम भट्टका अनुसार करिब ३५० मिटर लम्बाइको नाली निर्माण भइरहेको छ। आवश्यक स्थानमा नयाँ ढक्कन थप्दै पुराना ढक्कनसमेत प्रयोग गरिनेछ। भविष्यमा चार लेन वा छ लेन सडक विस्तारलाई ध्यानमा राखेर डिजाइन गरिएको उनले बताए।

नगरपालिकाले वर्षात सुरु हुनु अघि नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। यस योजनाले अत्तरिया बजार क्षेत्रमा पानी जम्ने समस्या नियन्त्रणमा ल्याउने र स्थानीय व्यवसाय तथा यातायात व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Loading...