दार्चुलामा निर्वाचन सुरक्षाका लागि तीन वटै सुरक्षा निकायको संयुक्त गस्ती

दार्चुला- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।

जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा ती ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ । सुरक्षाकर्मीले हरेक ठाउँमा नियमित जाँच, इजाजत प्राप्त हतियारको सङ्कलन, अवैध मदिरा नियन्त्रणका लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट गर्नेलगायत मतदानस्थलको नियमित रूपमा अनुगमन भइरहेको उनले बताए ।

जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्याङ्कन तथा निरीक्षण भइरहेको बताउँदै प्रजिअ पौडेलले निर्वाचनका विषयमा आवश्यक समन्वय तथा जिम्मेवारी दिन सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले दार्चुला पुगेर आवश्यक चुनावी तयारीबारे निर्देशन दिएको जानकारी दिए ।

नौगाड गाउँपालिका–१ को नागुका स्थानीयले ‘नोभोट’ भनेपछि यहाँ कसरी निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने भन्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल भएको उनले बताए । “अहिलेसम्म नागुका स्थानीय मतदान गर्न तयार छैनन्”, उनले भने, “व्यास गाउँपालिका–२ का स्थानीय भने मतदान गर्न तयार भएका छन् ।”

Dadeldhura hospital

नर्वाचनका लागि दार्चुलामा ८५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीको अन्तिम सूची प्रकाशन गरेको छ ।

सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार एउटा मतदान केन्द्रमा छ जनासम्म कर्मचारी परिचालन गरिएको छ । दुई वटा अस्थायी मतदान केन्द्रमा तीन जनाका दरले कर्मचारी खटाइएको उनले जानकारी दिए ।

निर्वाचनका लागि खटाइएका कर्मचारीलाई यही फागुन १३ र १४ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धाँमीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा अपिहिमाल गाउँपालिकाका १०, व्यास गाउँपालिकाका १३, मार्मा गाउँपालिकाका १७, लेकम गाउँपालिकाका १७ र नौगाड गाउँपालिकाका १४ वटा तथा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिने छ ।

दोस्रो चरणमा महाकाली नगरपालिकाका २०, शैल्यशिखर नगरपालिकाका २३, मालिकार्जुन गाउँपालिकाका १८ र दुहुँ गाउँपालिकाका ११ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम आयोजना गरिने उनले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ मतदानस्थल र १४३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । रासस

Loading...