

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजना (RUDP) अन्तर्गत सडक तथा ढल निकास निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ।


नगरभित्रका ८ वटा विभिन्न वडामा सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो। यस अन्तर्गत सडक निर्माण, ढल निकास तथा सहायक संरचनाहरू निर्माण गरिनेछ।



परियोजनाको पछिल्लो लागत अनुमान अनुसार सडक तथा ढल निकास निर्माणका लागि ३२ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले निर्माण कार्यको शिलान्यास गर्दै योजना छनोट, प्राविधिक मूल्यांकन तथा टेन्डर प्रक्रिया पूरा भएपछि भौतिक निर्माण कार्य सुरु गरिएको जानकारी दिए।
परियोजनाका इन्जिनियर भूपेन्द्र मण्डलका अनुसार परियोजनाको समयावधि विस्तारसँगै थप प्याकेजमा विभिन्न सडकखण्डहरू समावेश गरिएका छन्। तीमध्ये अत्तरिया रिङरोडसहित थप ८ सडक, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल–तेघरी सडकखण्ड, ग्वासी–खमौरा सडक, मालाखेती नहरदेखि पश्चिम ओलानी जाने बाटो तथा लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड प्रमुख रहेका छन्।
नगरप्रमुख भट्टले निर्माणका क्रममा केही समय नागरिकलाई असुविधा हुन सक्ने उल्लेख गर्दै सबै नगरवासीलाई धैर्य र सहयोगका लागि अपिल गरे। उनले भने, “निर्माणका क्रममा असुविधा भए पनि यो स्थायी विकासका लागि हो। नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सबैको सहकार्य आवश्यक छ। पारदर्शिता र गुणस्तरमा हामी कुनै सम्झौता गर्नेछैनौं।”
गोदावरी नगरपालिकाले परियोजना निर्धारित समयमै सम्पन्न गर्ने तथा निर्माण कार्यमा गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। यस परियोजनाले नगरको शहरी पूर्वाधार सुदृढ गर्दै दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।