

अत्तरिया- गोदावरी नगरपालिका–१० ले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार र व्यवहारिक सीप विकास गर्ने उद्देश्यसहित सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रम प्रभावकारी बन्दै गएको छ। वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’को पहलमा २०८१ सालदेखि नमुना अभ्यासका रूपमा सुरु गरिएको यो कार्यक्रम हाल वडाको शैक्षिक पहिचानकै रूपमा स्थापित हुँदै गएको हो।


कार्यक्रमअन्तर्गत प्रत्येक शुक्रबार विद्यार्थीलाई नियमित पाठ्यपुस्तक अध्ययनबाट अलग राखी सिर्जनात्मक, व्यवहारिक तथा जीवनोपयोगी गतिविधिमा सहभागी गराइन्छ। कविता, चित्रकला, वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति, समूहगत अभ्यासलगायतका क्रियाकलापमा सहभागिता बढेपछि विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य गर्ने संस्कारमा उल्लेख्य सुधार देखिएको विद्यालय पक्षले जनाएको छ।



कार्यक्रमको सकारात्मक प्रभाव विद्यार्थीमा मात्र नभई शिक्षक र अभिभावकस्तरसम्म देखिन थालेपछि वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि वडाभित्रका चारवटै विद्यालयमा बुक फ्रि फ्राइडे सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। यससँगै कार्यक्रम वडा तहबाट संस्थागत रूपमा विस्तार गरिएको हो।
पालिकाभित्रका धेरै सामुदायिक विद्यालय बन्द रहने अवस्थाबीच पनि गोदावरी–१० का सामुदायिक विद्यालयहरूले यही कार्यक्रममार्फत ८५औँ शहिद दिवस मनाएका छन्। अवसरमा विद्यार्थीहरूले शहिदप्रति समर्पित कविता, चित्रकला, वक्तृत्वकला तथा सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए।
वडा अध्यक्ष शाहीले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन नहुने बताए। “विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवन जिउन सक्ने व्यवहारिक सीप दिनु नै हाम्रो लक्ष्य हो,” उनले भने। स्थानीयवासीले यो पहलले गोदावरी–१० लाई व्यवहारिक शिक्षाको नमुना वडा बनाउने विश्वास व्यक्त गरेका छन्।





