

लक्ष्मी भट्ट/अत्तरिया, २१ पुस- गोदावरी नगरपालिका–१, पूर्व रोड अत्तरिया स्थित मैदानमा आयोजित सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ आज सोमबार भव्य रूपमा समापन भएको छ । “सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सवमा स्थानीय कला, संस्कृति, परम्परा र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव एक कार्यक्रमका बिच सम्पन्न भएको हो।


सृजनशील युवा क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी रहनुभएको थियो । विशिष्ट अतिथिहरूमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी तथा निशर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त सहभागी हुनुहुन्थ्यो ।


कार्यक्रमको सञ्चालन कलाकार शोभा त्रिपाठी र पत्रकार सीताराम ओझाले संयुक्त रूपमा गर्नुभएको थियो भने कार्यक्रमको प्रारम्भमा सृजनशील युवा क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
दुर्गेश थापाको प्रस्तुति मुख्य आकर्षण

समापन दिनको अनौपचारिक सांस्कृतिक कार्यक्रममा चर्चित गायक तथा कलाकार दुर्गेश थापाको विशेष प्रस्तुति मुख्य आकर्षणको रूपमा रहेको थियो । उनको ऊर्जाशील र लोकप्रिय प्रस्तुतिले दर्शकहरूलाई झुमाएको थियो । दर्शकहरू अत्यन्तै उत्साहित र लालायित देखिन्थे । साथै महोत्सवमा सहभागी अन्य स्थानीय कलाकारहरूको गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।
गेटा विश्वविद्यालय र डिडिसी स्थानान्तरणबारे चासो

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. टि.एन. जोशीले गेटा विश्वविद्यालयसँग सम्बन्धित नियुक्ति तथा प्रशासनिक प्रक्रिया अझै पूरा नभएकाले त्यसलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै अत्तरियाबाट डिडिसी धनगढी सर्नु दुखद विषय भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमा नकारात्मक प्रभाव पारेको बताउनुभयो ।

डा. जोशीले सृजनशील युवा क्लबले स्थानीय कला, संस्कृति, रीतिरिवाज तथा सृजनशील गोदावरी अभियानमार्फत समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रशंसा गर्दै, आगामी दिनमा पनि क्लबलाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खेलमैदानको अभाव र राजनीतिक चेतना

कार्यक्रममा बोल्दै युवा नेता लोकराज पाण्डेय आगोले अत्तरिया क्षेत्रमा खेलमैदानको गम्भीर अभाव रहेको उल्लेख गर्नुभयो। सृजनशील युवा क्लबले मैदानलाई व्यवस्थित गरी खेलकुदका लागि उपयोगी बनाएको भन्दै क्लबको प्रशंसा गर्नुभयो ।
आगामी वर्ष पनि यही मैदानमा महोत्सव आयोजना होस् भन्ने कामना व्यक्त गर्दै उहाँले सृजनशील युवा क्लब केवल एउटा क्लब मात्र नभई समाज परिवर्तनको एउटा सशक्त संस्था भएको धारणा राख्नुभयो ।
उहाँले स्थानीय सरकारप्रति असन्तुष्टि जनाउँदै नगरपालिकाले क्लबहरू, विकास र आधारभूत सुविधामा अपेक्षित सहयोग गर्न नसकेको बताउनुभयो । साथै आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै योग्य, जनसेवी र समाजसेवी उम्मेदवारलाई चिनेर मात्र मतदान गर्नुपर्ने सन्देश समेत दिनुभयो ।
२५ हजार विद्यार्थी र ५० हजारभन्दा बढी दर्शकको सहभागिता

कार्यक्रमको समापन गर्दै अध्यक्ष नरबहादुर राईले महोत्सव अवधिभर करिब २५ हजार विद्यार्थी र ५० हजारभन्दा बढी सर्वसाधारण दर्शकले अवलोकन गरेको जानकारी दिनुभयो । महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण दर्शक, क्लबका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, स्काउट, स्वयंसेवक, समाजसेवी, व्यापारी तथा व्यवसायी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले हाल सञ्चालनमा आएको मैदान निर्माणमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै, भविष्यमा पनि यस्ता रचनात्मक र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।