

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दार्चुला जिल्लामा पाँच वटा नयाँ विद्यालय भवन निर्माणको काम अघि बढेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालयमार्फत विद्यालय भवन निर्माण भइरहेको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले जानकारी दिए।


उनका अनुसार व्यास गाउँपालिकाको भूमिराज आधारभूत विद्यालय सल्याडी, शैल्यशिखर नगरपालिकाको भैरवनाथ आधारभूत विद्यालय दोबाटा, मालिकार्जुन गाउँपालिकाको गरडा माध्यमिक विद्यालय बाकु, लेकम गाउँपालिकाको खोदाइनाथ आधारभूत विद्यालय तथा महाकाली नगरपालिकाको मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा नयाँ भवन निर्माण भइरहेको छ।



प्रदेश सरकारको गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार विकास गर्ने नीतिअनुसार जिल्लाभर दुई कोठे पाँच वटा विद्यालय भवन निर्माण कार्य भइरहेको कार्यालय प्रमुख ओझाले बताए। चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तभित्र सबै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हाल केही विद्यालयमा भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने केही विद्यालयमा सम्झौता प्रक्रिया सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा कुल एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइएको हो।
यसअघि गत आर्थिक वर्ष २०८१/८२ मा पनि प्रदेश सरकारले एक करोड ७७ लाख रुपैयाँको लागतमा नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा महाकाली नगरपालिकाका पाँच विद्यालय भवन निर्माण गरिसकेको सामाजिक विकास कार्यालयले जनाएको छ।