

अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ ।


“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।


महोत्सवको बाहौं दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा आज आइतबार गायक अर्जुन सापकोटा, गायिका एलिना चौहान, डान्सर मनिषा सिंह, गायक सुरेश चोखाल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।
आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ ।
यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।
महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
पुस ९ गते देखि संचालित महोत्सव २ दिन थप गरी अब महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।