अत्तरिया- अत्तरिया मा सञ्चालन भइरहेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव मा दिन प्रतिदिन दर्शकको भीड बढ्दै गएको छ। सृजनशील क्लबको आयोजनामा दुई वर्षपछि पुनः सुरु भएको यस महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।



महोत्सव टिकट व्यवस्थापन संयोजक छविन्द्रनाथ योगी का अनुसार महोत्सव सञ्चालनको आठौँ दिनसम्म ४५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेका छन्। महोत्सव यही पौष १९ गतेसम्म सञ्चालन हुने जानकारी उनले दिए। दिनप्रतिदिन दर्शक संख्या बढ्दै गएकाले आगामी दिनमा अझ बढी सहभागिता रहने अपेक्षा गरिएको छ।


स्थानीय कला, संस्कृति, परम्परा, मौलिक नाचगान, थारु गाउँ प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत भइरहेकाले महोत्सवप्रति दर्शकको आकर्षण बढेको हो। परिवारसहित सहभागी हुने दर्शकको संख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै जाँदा महोत्सवको माहोल थप उल्लासमय बनेको योगीले बताए।
महोत्सवका संयोजक तथा सृजनशील क्लबका अध्यक्ष नरबहादुर राई ले दर्शकको चापलाई मध्यनजर गर्दै टिकट व्यवस्थापन, सुरक्षा व्यवस्था, पार्किङ, सरसफाइ तथा कार्यक्रम सञ्चालनलाई थप व्यवस्थित बनाइएको जानकारी दिए। स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरी महोत्सवलाई सहज, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गरिँदै आएको उनले बताए।
राईका अनुसार गोदावरी नगरपालिका क्षेत्रको सांस्कृतिक पहिचानलाई उजागर गर्नु, अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नु, स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्नु, युवाहरूको सृजनशीलतालाई मञ्च प्रदान गर्नु तथा सामुदायिक एकता सुदृढ गर्नु महोत्सवका मुख्य उद्देश्य हुन्।
कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी

महोत्सवमा किसान तथा कृषि फर्महरूले उत्पादन गरेका विभिन्न अर्गानिक सामग्रीहरूको प्रदर्शनी राखिएको छ। फापरको पिठो, पहाडी गुड, दाल, चामल, पहाडमा उत्पादन भएको चुक, घिउ, विभिन्न प्रकारका अचार तथा डडेल्धुराको किवी लगायतका स्थानीय उत्पादनहरूले दर्शकको ध्यान तानेका छन्। यसले किसान तथा स्थानीय उत्पादकलाई आफ्नो उत्पादन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको आयोजकले बताएका छन्।
थारु गाउँ प्रदर्शनी मुख्य आकर्षण
महोत्सवको विशेष आकर्षणका रूपमा थारु गाउँ प्रदर्शनी रहेको छ। लम्की चुहा नगरपालिका–गुलाराको टोलीद्वारा स्थापना गरिएको थारु गाउँमा थारु समुदायको मौलिक भेषभूषा, संस्कृति, परम्परागत खानपान, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भइरहेका छन्।
थारु गाउँ प्रवेशका लागि प्रवेश शुल्क तोकिएको छ। गाउँभित्र घोंघी, ढिग्री, बहेर चटनी, परेवा, अन्डीको भात, गंगेटा, माछा लगायत थारु समुदायका मौलिक परिकारहरू स्वाद लिन सकिने व्यवस्था गरिएको छ। थारु गाउँका संयोजक सोवित चौधरी का अनुसार दर्शकलाई मनोरञ्जन प्रदान गर्ने सांस्कृतिक तथा परम्परागत कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
स्थानीय संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको थारु गाउँ अवधारणाले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको आयोजकको भनाइ छ।

आयोजकका अनुसार महोत्सव अवधिभर दर्शक संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा थप आकर्षक सांस्कृतिक कार्यक्रम तथा चर्चित कलाकारहरूको प्रस्तुति रहने विश्वास व्यक्त गरिएको छ। महोत्सवले स्थानीय कला–संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवमा साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेश को व्यवस्था गरिएको छ।




