अत्तरियामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सव भव्य रूपमा जारी

चक्रबम र रचना रिमालको प्रस्तुति हेर्न हजारौँ दर्शकको भीड

अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव कलाकारहरूको दमदार प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताका कारण थप रोमाञ्चक बनेको छ । राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको उपस्थितिले महोत्सवको माहोल तातेको हो ।

मंगलबार सम्पन्न कार्यक्रममा चर्चित गायक तथा मोडल चक्र बम र लोकप्रिय गायिका रचना रिमालले सशक्त प्रस्तुति दिँदा दर्शकहरू झुम्मिएका थिए । उनीहरूसँगै नायक प्रभात पाल ठकुरी, अमर राना लगायतका कलाकारहरूले पनि प्रस्तुति दिएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । गीत–संगीत, नृत्य र अभिनयले भरिएको कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

टिकट व्यवस्थापन संयोजक छविन्द्रनाथ योगीका अनुसार मंगलबार अर्थात् पौष १५ गते करिब १० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका थिए । उनका अनुसार दर्शकको बढ्दो चापलाई व्यवस्थापन गर्न सुरक्षासँगै टिकट व्यवस्थापनलाई समेत चुस्त बनाइएको छ ।

आयोजक सृजनशील युवा क्लबले महोत्सवको तेस्रो दिन बुधबार गायक टंक तिमिल्सिना र मान जोरा, गायिका इश्बल सञ्ज्याल, डान्सर पूजा मगर तथा हास्य कलाकार अशोक कुँवरको विशेष प्रस्तुति रहने जानकारी दिएको छ । आयोजकका अनुसार आगामी दिनहरूमा पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति निरन्तर रहनेछ ।

महोत्सव अवधिभर गीत–संगीत र सांस्कृतिक प्रस्तुतिसँगै स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टलहरू समेत सञ्चालनमा रहेका छन् । समुदायमैत्री मनोरञ्जन कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वासका साथ आयोजना गरिएको यो महोत्सवले अत्तरियासहित सिंगो गोदावरी क्षेत्रको पहिचान थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

Loading...