अत्तरिया महोत्सवमा आज र्यापर जी–बब, गायक हिमाल सागरलगायतका कलाकारहरूको प्रस्तुति

अत्तरिया–  सृजनशील युवा क्लब अत्तरियाको आयोजनामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२’ पुस ९ गते बुधबारदेखि भव्य रूपमा सुरु भएको छ ।

“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

Navadurga sun

महोत्सवको पाँचौ दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आज आइतबारको कार्यक्रममा र्यापर जी बब सँगै चर्चित गायक हिमाल सागर, गायिका भूमिका गिरी, गायिका अन्जु कुश्मी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय प्रतिभालाई समेत प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गरिएको जनाइएको छ ।

र्यापर जी बब शनिवार आउने भनिए पनि प्रतिकुल मौसमका कारण फ्लाइट ल्यान्डिङ हुन नसक्दा प्रस्तुति स्थगित भएको थियो । उनको प्रस्तुति पनि आज आइतबार रहने आयोजकले जनाएको छ ।

अत्तरियामा सुरु भएको यो महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने कला, संस्कृति झल्किने विविध सामग्रीहरू समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

सृजनशील युवा क्लबले २०६६ सालदेखि २०७१ सालसम्म महोत्सव आयोजना गर्दै आएको थियो । २०७२ सालमा क्लबले महोत्सवको जिम्मेवारी अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएपछि क्लबले पुनः महोत्सव आयोजना गरेको जनाएको छ ।

यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...