


अत्तरिया– सृजनशील युवा क्लब अत्तरियाको आयोजनामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२’ पुस ९ गते बुधबारदेखि भव्य रूपमा सुरु भएको छ ।


“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।


महोत्सवको तेस्रो दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आजको कार्यक्रममा देउडा गायक भुवन दाहाल, हेमन्त शर्मा, चेतन बोहरा, सरस्वती सेठी र पवित्रा भण्डारीलगायत स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । देउडा तथा स्थानीय मौलिक गीत–संगीतमार्फत सुदूरपश्चिमेली संस्कृति र पहिचानलाई उजागर गर्ने तयारी गरिएको छ ।


अत्तरियामा सुरु भएको यो महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने कला, संस्कृति झल्किने विविध सामग्रीहरू समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
सृजनशील युवा क्लबले २०६६ सालदेखि २०७१ सालसम्म महोत्सव आयोजना गर्दै आएको थियो । २०७२ सालमा क्लबले महोत्सवको जिम्मेवारी अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएपछि क्लबले पुनः महोत्सव आयोजना गरेको जनाएको छ ।
महोत्सवमा स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित १८० वटा स्टल राखिएका छन् । सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति, बाल उद्यान, मनोरञ्जनात्मक मेला तथा थारु गाउँको विशेष प्रदर्शनी पनि महोत्सवका आकर्षणका रूपमा रहेका छन् । थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।
महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।





