

धनगढी- कैलाली जिल्लामा पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु लाग्न थालेसँगै चिसोको महसुस उल्लेख्य रूपमा बढेको छ। पुस १ गतेदेखि निरन्तर कुहिरो लाग्न सुरु भएपछि बिहान र साँझको समयमा चिसो अझै बढेको स्थानीयवासीले बताएका छन्।


यसअघि मौसम प्रायः सफा रहेकाले घाम लाग्दा जाडोको अनुभूति कम भए पनि अहिले बाक्लो हुस्सुका कारण तापक्रम घट्दै गएको छ। विशेषगरी बिहान र साँझ कुहिरो बाक्लिँदा जनजीवन प्रभावित हुनुका साथै सवारी साधनको आवागमनमा समेत कठिनाइ भइरहेको छ। पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा दृश्यता कम हुँदा सवारी चालकहरूलाई गाडी चलाउन समस्या भइरहेको छ भने यात्रुहरू पनि असहज महसुस गर्न बाध्य भएका छन्।



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली भू–भागमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम सफा रहने जनाइएको छ। आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको बताइएको छ।
यद्यपि पश्चिम तराई क्षेत्रमा भने बिहान र साँझ हुस्सु लाग्ने क्रम केही दिन अझै जारी रहने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार भारतको उत्तरप्रदेशसहित नेपालको पश्चिम तराई क्षेत्रमा बाक्लो हुस्सु देखिएको हो। आगामी केही दिन राति र बिहानको समयमा तापक्रम थप घट्न सक्ने उनीहरूको भनाइ छ।
चिसो र हुस्सु बढेपछि कैलालीका विभिन्न स्थानमा जनजीवन प्रभावित बन्न थालेको छ। खेतबारीमा काम गर्ने किसान, विद्यालय जाने बालबालिका तथा बिहान सबेरै काममा निस्कने मजदुरहरू बढी प्रभावित भएका छन्। चिसोका कारण बजार क्षेत्रमा पनि बिहानको चहलपहल कम देखिएको छ।
स्वास्थ्यकर्मीहरूले चिसो र हुस्सुका कारण रुघाखोकी, ज्वरो, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई न्यानो कपडा लगाउन, चिसोबाट जोगिन र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।