


कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा जारी ‘वडा स्तरीय मेयर फुटबल’ प्रतियोगितामा खेलका क्रममा खेलाडीमाथि सामूहिक कुटपिट भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलका क्रममा सामान्य विवाद बढ्दै जाँदा वडा नं. १० का खेलाडी करन पाललाई वडा नं. १ का खेलाडी तथा समर्थकहरूले सामूहिक रूपमा कुटपिट गरेको बताइएको छ ।


कुटपिटबाट गम्भीर घाइते बनेका पालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको नाकका चार वटा हड्डी भाँचिएको छ भने आँखा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।



घटनामा संलग्न चार जनामाथि करन पालका परिवारले किटानी जाहेरी दर्ता गरेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार दोषीको खोजी भइरहेको छ । खेल मैदानमा झडप बढ्ने सम्भावना देखिएपछि सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको थियो ।
वडा नम्बर १० खेलकुद विकास समितिले दोषीमाथि कडा कारबाही गर्नुपर्नेकथन गर्दै घाइते खेलाडीको सम्पूर्ण उपचार खर्च बेलौरी खेलकुद नगर विकास समितिले वहन गर्नुपर्ने माग राखेको छ ।
मंसिर १५ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल कुटपिटपछि स्थगित गरिएको छ। आयोजक समितिका अनुसार घाइतेको स्वास्थ्य अवस्थापछि खेल पुनः सञ्चालन गर्ने विषयमा छलफल हुनेछ ।





