बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा अर्थात् मनसुनी वायुको प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ। आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भूभागमा साधारण बदली देखिएको छ। मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।


दिउँसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ भने बागमती र लुम्बिनी प्रदेशमा साधारण बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले सर्वसाधारणलाई सतर्क रहन र चट्याङ तथा भारी वर्षाबाट सावधानी अपनाउन आग्रह गरेका छन्।
