अत्तरिया- जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको गोदावरी नगरपालिकाको भवन मर्मत र पुनर्निर्माणमा वडा नं ११ को वडाध्यक्ष प्रेम सिँ बडैला र ४ सदस्यले एक महिनाको सेवासुविधा त्यागेर योगदान गर्ने भएका छन् ।


वडाध्यक्ष बडैलाले आफूले मासिक पाउने २५ हजार रुपैयाँ र प्रत्येक वडासदस्यले पाउने करिब ९ हजार ५०० रुपैयाँ बराबरको सेवासुविधा यसपालि नलिई मर्मत तथा पुनर्निर्माण कार्यमा प्रयोग गर्ने घोषणा गरेका हुन् । यस हिसाबले करिब ६३ हजार रुपैयाँ बराबरको रकम संकलन हुने अनुमान गरिएको छ।



जेन–जी आन्दोलनका क्रममा धनगढीसहित सुदूरपश्चिमका विभिन्न सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भएको थियो । सोही क्रममा गोदावरी नगरपालिकाको कार्यालय भवन पनि क्षति पुगेको थियो ।
निर्वाचनमा वडाध्यक्षमा प्रेम सिँ बडैला र वडासदस्यमा कुमार सिँ बडैला, गंगा देवी खड्का, दिपा दमाई र दिल बहादुर साउँद निर्वाचित भएका थिए। उनीहरूले ‘सार्वजनिक सम्पत्ति संरक्षण र नगरको पुनर्निर्माणमा जनप्रतिनिधिको प्रत्यक्ष भूमिका रहनुपर्छ’ भन्ने सोचका साथ व्यक्तिगत सुविधा त्यागेको बताएका छन् ।
वडाध्यक्ष बडैलाका अनुसार, जनप्रतिनिधि जनताको सेवा गर्न निर्वाचित हुने भएकाले व्यक्तिगत सुविधा भन्दा नगर र नागरिकको हितलाई प्राथमिकता दिनु आवश्यक छ। उनले भने, “यो हाम्रो नैतिक जिम्मेवारी हो । व्यक्तिगत भत्ता वा सुविधा भन्दा नगरको आवश्यकता ठूलो हुन्छ।”





