चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ढिलाइ, विरोधमा अत्तरियामा व्यापक र्‍याली

अत्तरिया- अत्तरिया चोकमा चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारको निरन्तर ढिलासुस्ती र लापरबाहीका कारण आक्रोशित स्थानीयवासी र जनप्रतिनिधिहरूले सोमबार गोदावरीमा व्यापक विरोध र्‍याली निकालेका छन् ।

सडक सङ्घर्ष समितिको आयोजनामा भएको उक्त र्‍यालीमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।

Navadurga sun

सडक निर्माण कार्य रोकिएको लामो समय भएको र पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको स्थानीयको भनाइ छ । यसअघि आइतबार पत्रकार सम्मेलनमार्फत सोमबारदेखि चक्काजाम गर्ने कार्यक्रम घोषणा गरिएको थियो। तर सोमबार बिहानै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालसहित ठेकेदार कम्पनीका प्रतिनिधि ओलानी पुगेर काम भोलिदेखि सुरु गर्ने र दिउँसो २ बजे लिखित प्रतिबद्धता गर्ने आश्वासन दिएपछि चक्काजाम कार्यक्रम स्थगित गरिएको थियो। त्यसको सट्टा सडक सङ्घर्ष समितिले विरोध र्‍याली र कोष सभा आयोजना गर्‍यो।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले छ वर्षअघि ठेक्का भएको सडक अझै निर्माण सम्पन्न नभएकामा असन्तोष व्यक्त गर्दै भने, “पटक–पटक पहल गर्दा पनि नतिजा नआएपछि हामी बाध्य भएर सडकमा आएका हौं। यदि भोलिदेखि काम सुरु भएन भने पुनः आन्दोलन चर्काउनेछौं।” वडा नं. ३ का वडाध्यक्ष तेज राज अवस्थीले पनि सडककै बीचमा वडा कार्यालय सञ्चालन गर्दा समेत सुनुवाइ नभएको पीडा पोख्दै आन्दोलन नै अन्तिम विकल्प भएको बताए।

सङ्घर्ष समितिका संयोजक विक्रम विकले सम्झौतापछि पनि ढिलाइ भए सडक पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिए। “जनताले भोगिरहेको समस्या अब सहन सक्ने अवस्थामा छैन, सम्झौतामा भएका प्रतिबद्धता पालना नभए कडा आन्दोलन अपरिहार्य हुन्छ,” उनले भने।

प्रदेश सरकारले २०७६/७७ मा अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो। तर पहिलो चरणपछि दोस्रो र तेस्रो खण्डको काम अधुरो रहँदा सडकको कुल साढे ५ किलोमिटर निर्माण अलपत्र परेको छ। लामो समयसम्म सडक निर्माणमा देखिएको ढिलासुस्तीका कारण स्थानीय बासिन्दा वर्षौंदेखि धुलो–धुवाँ, हिलो र आवागमनको समस्यामा परेको गुनासो गर्दै आएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...