चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ढिलाइ : स्थानीय जनप्रतिनिधिलगायतका सडक आन्दोलनमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाभित्र पर्ने चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा लामो समयदेखि ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधि र बासिन्दा सडक आन्दोलनमा उत्रिएका छन् । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको छ वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य अघि नबढेपछि स्थानीय वडाध्यक्षहरू र संघर्ष समितिले आक्रोश पोखेका हुन् ।

वडा नं. ३, १०, ११ र १२ का अध्यक्षहरूले सडक निर्माणमा ध्यान नदिइएको विरोधस्वरूप केही दिनअघि वडाको कार्यालय नै सडकमै सञ्चालन गर्ने निर्णय गरेका थिए । उनीहरूले दबाबस्वरूप चरणबद्ध आन्दोलन अघि बढाउने र सडक निर्माण सुरु नभएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

Navadurga sun

यसै क्रममा संघर्ष समितिले भोलि सोमबार (भदौ २२ गते) बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिका संयोजक बिक्रम विकले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमहरूलाई औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

सडक निर्माण नहुँदा स्थानीय बासिन्दाले गम्भीर समस्या भोग्नुपरेको छ। गर्भवती महिलाहरूले उपचार र सवारी साधन अभावमा बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आएको छ । सर्पदंशका पीडितलाई समयमा अस्पताल पुर्याउन नसक्दा ओलानी क्षेत्रमा मात्र हरेक वर्ष ५–७ जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। साथै रोजगारीका लागि युवा भारत जान बाध्य भएको स्थानीयवासीको गुनासो छ ।

चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले पाएको भए पनि दुवै कम्पनीले काम नगरेको भन्दै स्थानीयले कडा असन्तोष व्यक्त गरेका छन् । सडक निर्माण सुरु गराउन पटक–पटक जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको स्थानीय जनप्रतिनिधिको आरोप छ ।

वडा नं. ३ का अध्यक्ष तेज राज अवस्थी, वडा नं. १० का कार्यबाहक अध्यक्ष शेर बहादुर तामाङ, वडा नं. ११ का अध्यक्ष प्रेम सिंह बडैला, वडा नं. १२ का अध्यक्ष भीम बहादुर खड्का लगायत स्थानीय प्रतिनिधिहरू आन्दोलनमा सक्रिय रहेका छन् । उनीहरूले सडक निर्माण नहुन्जेलसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।

संघर्ष समितिले अबका दिनमा आन्दोलनलाई अझ व्यापक बनाउनुपर्ने धारणा राख्दै राज्य र ठेकेदार कम्पनी दुवैको उदासीनताविरुद्ध एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...