चौकीडाँडा–फल्टुडे सडक निर्माणमा चरम ढिलाइ, वडाध्यक्ष, मेयरदेखि सांसदसम्म सडक आन्दोलनमा

अत्तरिया- गोदावरी नगरपालिकाको चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माणमा ठेकेदारको चरम लापरबाहीका कारण स्थानीय बासिन्दाले छ वर्षदेखि ठूलो सास्ती भोगिरहेका छन् । पटक–पटक आवाज उठाउँदा पनि काम अघि नबढेपछि स्थानीय वडाध्यक्षहरू आन्दोलनमा उत्रिएका छन् ।

वडाध्यक्षहरूले विरोधस्वरूप आफ्नै वडा कार्यालय सडकमै सञ्चालन गर्न थालेका छन् । गोदावरी–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डू) ले दुई दिनसम्म सडकमै कार्यालय सञ्चालन गर्ने र तेस्रो दिन अत्तरिया चोकमै सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले यसअघि नै जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको बताए ।

Navadurga sun
Godawari sandesh

सडक निर्माणमा ढिलाइ हुँदा वडा नं. ३, १०, ११ र १२ का बासिन्दा प्रत्यक्ष पीडित बनेका छन् । भारतमा मेहनत गरेर ल्याइएका अटो जस्ता सवारी साधन पाँच महिनामै बिग्रिने अवस्था आएको छ । गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने घटना दोहोरिन्छ । सर्पदंश उपचारका लागि समयमै अस्पताल पुर्याउन नसक्दा वर्षेनी ५–७ जनाले ज्यान गुमाउने गरेका छन् । सडक नहुँदा रोजगारीका अवसर घटेर फेरि भारत फर्कनुपर्ने बाध्यता सिर्जना भएको छ ।

Dadeldhura hospital

चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का पाएको एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले पटक–पटक सम्झाइए पनि काम अघि बढाएको छैन । स्थानीयवासीका अनुसार समयमै सडक बनेको भए यातायात, स्वास्थ्य सेवा र रोजगारी सहज हुने मात्र होइन, सामाजिक रुपान्तरणमै ठूलो योगदान पुग्ने अपेक्षा थियो ।

आन्दोलनलाई गोदावरी नगर प्रमुख विरेन्द्र भट्ट र सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले पूर्ण समर्थन जनाएका छन् ।

सांसद देवकोटाले प्रदेश सरकारले बजेट छुट्याउँदा पनि ६ वर्षसम्म सडक निर्माण सम्पन्न नहुनु ठेकेदारको चरम लापरबाही भएको भन्दै तत्काल अनुगमन गर्न सरकारलाई आग्रह गरिन् ।

मेयर भट्टले आन्दोलन मात्र समाधान नभएको भन्दै मुख्यमन्त्री र सीडीओसँग छलफल गरेर निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न बाध्य गराउने प्रतिबद्धता जनाए ।

चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ढिलाइका कारण स्थानीय जनजीवन दिनहुँ संकटमा परेको छ । स्वास्थ्य, यातायात र रोजगारीजस्ता आधारभूत अधिकारमै प्रत्यक्ष असर परेको भन्दै वडाध्यक्षदेखि सांसदसम्म सडकमा उत्रिन बाध्य भएका छन् । अब प्रदेश सरकार र सम्बन्धित निकायले ठोस कदम नचाले आन्दोलन अझ व्यापक बन्ने चेतावनी स्थानीयले दिएका छन् ।

Loading...