धनगढी- सुदूरपश्चिम प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सुदूरपश्चिम गौरा महोत्सव २०८२ आजदेखि धनगढीमा सुरु हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा हुने महोत्सव यस वर्ष १०औँ संस्करणमा प्रवेश गरेको हो ।



महोत्सवको आज दिउँसो २ बजे प्रदेश प्रमुख नजिर मिँयाले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ ।



डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत बहादुर रावत (डोटेली कान्छा) का अनुसार तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । उनले गौरा पर्व मात्र नभई यससँग जोडिएको डेउडा नृत्यलाई संरक्षण, प्रवर्द्धन र प्रचार गर्न महोत्सवको विशेष महत्व हुने बताए ।
आयोजकका अनुसार काली–कर्णाली क्षेत्रको मौलिक सांस्कृतिक पहिचानका रुपमा रहेको डेउडालाई जगेर्ना गर्नुका साथै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । साथै, भाषा, कला, साहित्य, संस्कृति, भेषभूषा र रहनसहनलाई संरक्षण गर्दै नयाँ पुस्तामा लोकसंस्कृतिप्रतिको आकर्षण बढाउने अपेक्षा लिइएको छ ।
यसपटकको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, साहित्यिक प्रस्तुतिहरु, भेषभूषा प्रदर्शन तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा सहभागिताका लागि कुनै शुल्क नलाग्ने र सबैका लागि खुला रहने व्यवस्था गरिएको छ ।




