


कञ्चनपुर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) प्रतिवेदनमा कञ्चनपुरका सबै नौवटा स्थानीय तह सहभागी भएका छन् । मूल्याङ्कनमा बेदकोट नगरपालिका ८३.२५ अंकसहित जिल्लामै उत्कृष्ट स्थानीय तह बनेको छ ।



बेदकोटपछि बेलौरी नगरपालिका ८२.५० अंक प्राप्त गर्दै दोस्रो स्थानमा परेको छ भने भीमदत्त नगरपालिका ८१.२५ अंक, लालझाडी गाउँपालिका ८१.७५ अंक, पुनर्वास नगरपालिका ८१.०० अंक, बेल्डाँडी गाउँपालिका ८१.७५ अंक र शुक्लाफाँटा नगरपालिका ८०.०० अंक प्राप्त गरी उत्कृष्ट सूचिमा परेका छन् । त्यस्तै, कृष्णपुर नगरपालिका ७३.२५ अंक र दोधारा–चाँदनी नगरपालिका ७१.५० अंकसहित जिल्लाका अन्य स्थानीय तहका रूपमा रहेका छन् ।


लिसा मूल्याङ्कनमा शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापनलगायत नौ सूचकका आधारमा मूल्याङ्कन गरिएको हो ।
सरोकारवालाहरूका अनुसार यस नतिजाले कञ्चनपुरका स्थानीय तहहरूले संस्थागत क्षमता, शैक्षिक सुधार, सेवा प्रवाह, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको प्रमाणित गरेको छ ।





