

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयमा ६१४औं बीटीसी स्काउट आधारभूत तालिम सम्पन्न भएको छ । स्थानीय स्काउट कार्यालयको आयोजनामा तथा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा असार १५ गतेदेखि सुरु भएको तालिम शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
६ दिनसम्म सञ्चालन भएको तालिममा गोदावरी नगर क्षेत्रका ३० जना शिक्षकहरूले सहभागिता जनाएका थिए । समापन कार्यक्रम स्काउट प्रमुख तथा स्थानीय आयुक्त ललन प्रसाद चौबेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथिका रहनु भएको थियो ।

नगरप्रमुख भट्टले स्काउट तालिमले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै “एक विद्यालय, एक स्काउट युनिट” को अवधारणा अनुसार स्काउट गतिविधिलाई थप सशक्त बनाइने प्रतिबद्धता जनाए । “स्काउटमार्फत अनुशासन, समाजसेवा र आत्मनिर्भरता सिक्न पाइन्छ, यसलाई नियमित रूपमा सञ्चालन गर्नु आवश्यक छ,” उनले भने ।
कार्यक्रममा उपप्रमुख शारदा देवी रोकायाले स्काउट तालिम केवल खेल वा परेड नभई जिम्मेवारी र सेवाको अभ्यास भएको बताउँदै आत्मरक्षा, विपद् व्यवस्थापन र सामाजिक सेवामा यसको प्रभावकारी योगदान हुने धारणा व्यक्त गरिन् ।
स्थानीय स्काउट प्रमुख ललन चौबेले तालिमले सामाजिक, शैक्षिक, नैतिक र धार्मिक क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै, “स्काउटमा गरिएको लगानीले सकारात्मक परिणाम दिन्छ,” भने ।
समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र रोका मगर, विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिंह कठायत, वडा सदस्यहरू, स्थानीय समाजसेवी तथा छिमेकी पालिकाका स्काउट मास्टरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई ब्याज र प्रमाणपत्र वितरण गरिएको थियो ।