

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१० ले अपांगता भएका बालबालिकाको शिक्षामा सहजीकरण गर्ने उद्देश्यले कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
शुक्रबार सम्पन्न एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाका लागि आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रम वडाध्यक्ष (कार्यवाहक) शेर बहादुर तामाङ र वडा सचिव हिक्मत साउँदको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा बोहराको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष तामाङले विद्यालयले अपांगता भएका बालबालिकालाई समेटेर सञ्चालन गरिएको देख्दा आफू प्रभावित भएको बताए । “समावेशी शिक्षामा विद्यालयको योगदान अत्यन्त सराहनीय छ । वडाबाट यस्ता क्रियाकलापमा निरन्तर सहयोग रहनेछ,” तामाङले भने ।
कार्यक्रममा वडासचिव साउँदले विद्यालयको प्रयासलाई थप सबल बनाउन स्थानीय सरकार सधैं साथमा रहेको बताए ।
वडाका अनुसार विद्यालयलाई २५ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री ज्यामेट्री बक्स, कलर, कपी, बलपेन लगायतको सामाग्री वितरण गरिएको हो । आगामी आर्थिक वर्षका लागि समेत यस्ता सहयोगका लागि बजेट छुट्याइएको जानकारी कार्यक्रममार्फत दिइएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा बोहराले विद्यालयको समावेशी शिक्षण प्रणालीलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।