दार्चुलामा पहिलोपटक ब्लड बैंक स्थापनार्थ रकम सङ्कलन अभियान सुरु

दार्चुला- दार्चुलामा पहिलो पटक ब्लड बैंक स्थापना गर्नका लागि प्रमुख जिल्ला अधिकारी केशवप्रसाद पौडेलको समन्वयमा रकम सङ्कलन अभियान सुरु गरिएको छ।

जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा सुत्केरी, आकस्मिक बिरामी र अपरेशनका केसमा रगत अभाव भोग्नु परेकाले यस समस्याको दीर्घकालीन समाधानका लागि अभियान सुरु गरिएको हो।

Navadurga sun

प्रजिअ पौडेलको नेतृत्वमा सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीबाट संकलित रु. ५ लाख २ हजार ८८१ रकम नेपाल रेडक्रस सोसाइटी दार्चुलाका अध्यक्ष गोपालसिंह महरलाई हस्तान्तरण गरिएको छ।

प्रजिअ पौडेलले भने, “राष्ट्रसेवक कर्मचारीहरूबाट स्वस्फूर्त सहयोग संकलन गरिएको छ। ब्लड बैंक स्थापना गरेर सञ्चालनमा ल्याउनु नै हाम्रो उद्देश्य हो।”

जिल्ला समन्वय समिति प्रमुख महदेव बडू (कस्यप) ले तीन सयभन्दा बढी जनप्रतिनिधि र सबै स्थानीय तहलाई सहयोगका लागि आह्वान गर्ने बताए । “यो जिल्लाका लागि अत्यन्तै आवश्यक र पुण्य काम हो,” उनले भने ।

महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिरले ब्लड बैंक स्थापना आफ्नो प्रतिबद्धता भएको उल्लेख गर्दै भने, “जहाँबाट सम्भव हुन्छ, बजेट खोजेर पनि यो सेवा संचालनमा ल्याइन्छ ।”

जिल्ला अस्पतालका डा. सञ्जीव श्रेष्ठका अनुसार, अहिलेसम्म बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्न सुरक्षाकर्मी र सर्वसाधारणलाई खोजी खोजी रक्तदानका लागि बोलाउनुपर्ने अवस्था छ। उनले भने, “ब्लड बैंकको आवश्यकता दार्चुला जस्तो दुर्गम पहाडी जिल्लाका लागि झनै अनिवार्य छ ।”

यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाले ब्लड बैंक स्थापनाका लागि केही सामग्री संकलन गरेको थियो । तर, बजेटको अभावले पूर्णरूपमा स्थापना हुन सकेको थिएन । रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थीले स्रोत सुनिश्चित भएमा अबको चरणमा राम्रो ब्लड बैंक स्थापना सम्भव हुने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...