

अत्तरिया– गोदावरी नगरपालिकाले कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलमिलाप कृषक समूहलाई पावर टिलरसहित विभिन्न कृषि सामग्री वितरण गरेको छ।


नगरपालिका–३ स्थित चौकिडाँडामा आयोजित कार्यक्रममा नगरप्रमुख बिरेन्द्र भट्टले ११ थान ७ एचपी क्षमताका पावर टिलर मेलमिलाप कृषक समूहकी संयोजक कौशिल्ला देवी बुढालाई हस्तान्तरण गरे। यिनसँगै भण्डारण ड्रम २० थान, तोरीको बिउ ८० केजी, कम्पोष्ट मल २० ट्राली, त्रिपाल, स्प्रे मेसिन, कुटो तथा कोदालो २०/२० थान वितरण गरिएको हो।



कार्यक्रम “तोरी पकेट विकास कार्यक्रम” अन्तर्गत लागत साझेदारीमा सम्पन्न भएको हो, जसमा गोदावरी नगरपालिकाले ५० प्रतिशत अर्थात् ६ लाख रुपैयाँ अनुदान दिएको छ भने कृषक समूहबाट ६ लाख ४८ हजार रुपैयाँको योगदान भएको छ। कुल लागत १२ लाख ४८ हजार पुगेको जानकारी नगरपालिकाले दिएको छ।
नगरप्रमुख भट्टले कृषिलाई मातृपेशा बनाउँदै व्यवसायीकरण र यान्त्रिकीकरणतर्फ लैजान यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताएका छन्। “सानो क्षेत्रफलमा समेत यन्त्रको प्रयोगले सहज खेती सम्भव हुन्छ,” उनले बताए, “सकारात्मक प्रभाव परे आगामी वर्ष यस्ता कार्यक्रम अझै विस्तारित गरिनेछ।”
कृषकलाई यान्त्रिक सामग्रीको पहुँच पुर्याउने गोदावरी नगरपालिकाको यो पहल स्थानीय तहमा यान्त्रिक कृषि प्रणालीको जग बसाउने दिशातर्फको महत्वपूर्ण पाइला मानिएको छ। कार्यक्रममा नगरप्रवक्ता तथा वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, कृषि शाखा प्रमुख नन्दी मल्ल लगायत कृषक समूहका सदस्यहरूको उपस्थिति रहेको थियो।

