बैतडी- सानैदेखि फोटो खिच्न रुचाउने रविना चन्दको बालसुलभ सपना फोटोग्राफर बन्ने थियो । नयाँ ठाउँ, दृश्य देख्नेबित्तिकै क्यामेरामा कैद गर्न लालायित हुने उनी साथीहरूकै फोटोग्राफर पनि बनेकी थिइन् । तर, जीवनको मोडले उनलाई आज सुदूरपश्चिमकी एक्ली महिला जीप चालक बनाएको छ ।अहिले उनलाई चालक पेशाले नै नामसंगै दाम दिइरहेको छ ।



बैतडीको पञ्चेश्वर गाउँपालिका ४ निङलाडीकी बस्ने २१ वर्षीया रविना चन्दले सुदूर पहाडका घुम्ती छिचोल्दै ग्रामिण भेगका यात्रुलाई तराईसंग जोडिरहेकी छन् ।


‘चालक हुँला भनेर त सोचेकै थिएन । परिस्थितले चालक बनायो । काम गर्दै जाँदा अहिले यो पनि राम्रो लागिरहेको छ,’ रविना भन्छिन्, ‘हाम्रो फोटो खिच्ने पसल थियो । सानैदेखि फोटोग्राफर बन्ने सपना थियो ।’ रविनाका बुवा डबलबहादुरले ६ वर्षअघि बोलेरो किनेका थिए । चालक राखेर जिप सञ्चालन गर्थे । उनको हार्डवेयर, किराना लगायतको पसल पनि छ ।

आफू पसल बस्ने गर्छन् । गाडी चलाउन राखिएका चालक कोही छोटो समयमै छाडेर जाने, कोहीले लापरबाही गर्ने गर्थे । त्यसले सार्वजनिक गाडी नियमित रूपमा चलाउन डबलबहादुरलाई समस्या आउन थाल्यो । यसमा बारेमा छोरी रविना जानकार नै थिइन् । चालकले गर्दा जीप नियमित चलाउन समस्या हुन थालेपछि उनी आफै चालक बन्नमा लागिन् । ‘घरमा जिप हुनाले कहिले काँही थोरै चलाउँदा चलाउँदै जीप चलाउन सिकियो । त्यसपछि गत वर्ष वैशाखतिर लाइसेन्स निकाले,’ उनले भनिन्, ‘चालकले गाडी बीच बाटोमै छोडेको, कहिले बिनाजानकारी छाडेर हिँडेको जस्ता समस्या सुनिरहनुपथ्र्यो । त्यसले गर्दा गाडी थन्किने अवस्था भएपछि आफै त्यसमा लागे ।’
रविनाका ६ दिदीबहिनी र एक दाइ छन् । सबै बाहिरतिर भएकाले बुवालाई सघाउन र जिम्मेवारी लिन पनि आफू चालक बन्नु परेको उनी बताउँछिन् । सवारी चालक अनुमति पत्र लिएपछि एकवर्षदेखि नियमति सार्वजनिक सवारी चलाइरहेकी उनी सुदूर पहाडकी पहिलो महिला चालक हुन ।
सुदूर पहाडमा साँघुरा जोखिमपूर्ण घुम्तीमा हुइँकाउँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जीपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन्, उनी । महिना १२/१३ पटक बैतडी–महेन्द्रनगर–धनगढी गरिरहनुपर्छ । उनले कक्षा १२ सम्मको अध्ययन गरेकी छन् । गाउँकै जवलपुर माध्यमिक विद्यालयबाट कक्षा १० उर्तिण गरेकी उनी कक्षा १२ पनि सोही विद्यालयमा पढिन् ।
चालकसंगै पढाइलाई पनि निरन्तरता दिने उनको सोच छ । ‘सुरु सुरुमा निकै गाह्रो भयो । ड्राइभरका रुपमा मलाई पत्याउँदैनथे । गाडीमा बसेका यात्रुले ड्राइभर खोइ भनेर सोध्थे,’ रविना भन्छिन्, ‘लामो दूरीमा छोरी मान्छेले गाडी सुरक्षित चलाउन सक्लिन् र? भन्ने जस्ता कुरा गर्थे ।’ सुरु सुरुमा ट्राफिक प्रहरीले समेत उनलाई चालक भनेर पत्याउँदैथे । लामो समय केरकार गर्थे, लाइसेन्स माग्थे । कतिपयले तस्बिर नै खिच्थे । ‘नियमित पहाड तराई गर्न थालेपछि अहिले सबैले चिन्नुहुन्छ ।
सबैले विश्वास पनि गर्नुहुन्छ, सुरुआत जस्तो गाह्रो छैन,’ उनी भन्छिन्, ‘सबैले सहयोग गर्नुभएको छ ।’ जीप चलाएर परिवारलाई साथ दिइरहेकी रविना विस्तारै ‘फोटोग्राफर’ बन्ने सपना पनि साकार गर्ने अठोटमा छिन् । ‘अहिले त यसमै ठिक छुँ,’ उनी भन्छिन्, ‘फोटोग्राफीको म सानैदेखि सौखिन हुँ । कुनै दिन यो सपना पनि पूरा गर्छु ।’




