हरिश चन्द/डडेल्धुरा १३ असार- डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।



गाउँपालिका भित्रका सबैै वडाहरूमा रहेका १५ महिना मुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगहरुको खोप अनिवार्य पाएको सुनिश्चितता भएपछि पालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो । पालिकालाई जिल्ला समन्वय समितिका गगन सिह भण्डारीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेका हुन ।

घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख भण्डारीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाले हामी सक्षम छौ भन्ने देखिए पनि यसको दिगो सञ्चालनका लागि कार्ययोजना र स्रोत सुनिश्चित नहुँदा अधिकांश कार्यक्रमहरु पछी गएर अलपत्र पर्ने भएकोले घोषणासंगै स्रोतको सुनिश्चित गर्नुपर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष उमेश भट्टले पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको सन्दर्भमा विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको बताउनु भयो । घोषणासँगै यसलाई दिगोपना दिनका लागि पालिकाका सबै सरोकारवाला निकाय, नागरिक समाज र समुदायको सहयोग आवश्यक हुने उहाँको भनाई छ ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नका लागि तोकिएका आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उहाँको भनाई छ ।
गाउँघर क्लिनिक सञ्चालन हुनुका साथै वडाका विभिन्न स्थानबाट खोप सेवा प्रवाह गर्ने गरिएको समेत जानकारी दिए । विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा नभई स्वास्थ्य संस्थामै सुत्केरी भएको स्वास्थ्य शाखा गणेश पालले जानकारी दिनु भयो । जिल्लामा अजगमेरु गाउँपालिका सहित सात वटा स्थानीय तह पूर्ण खोप पालिका घोषणा भएका छन् ।




