बैतडी- बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२ र ३ मा अवस्थित ऐतिहासिक वासुलिङ मन्दिर धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले सुदूरपश्चिम नेपालको एक अमूल्य सम्पदाको रूपमा चिनिँदै आएको छ । पाँच सय वर्ष पुरानो देवदारको वनको काखमा रहेको यो मन्दिर क्षेत्र दर्जनौँ गाउँका बासिन्दाको साझा आस्थाको केन्द्रका रूपमा स्थापित छ ।



स्थानीय मान्यताअनुसार मन्दिर परिसरमा रहेका देवदार (स्थानीय भाषामा ‘द्यार’) रुखहरूलाई देवताको बासको रूपमा मानिन्छ । ती रुखहरूलाई छोएमा पाप लाग्छ भन्ने जनविश्वास रहिआएको छ । स्थानीय वृद्ध हरिदत्त भट्टका अनुसार, यो मान्यता पुस्तौँदेखि चलिआएको हो र त्यसको पालना आजसम्म निरन्तर छ ।


वासुलिङ मन्दिरमा पुजारी धर्मानन्द भट्टले दशकौँदेखि पूजाअर्चना गर्दै आउनुभएको छ । उहाँका अनुसार यहाँ भक्तिभावसहित पूजाअर्चना गर्नेको मनोकामना पूरा हुने विश्वास रहिआएको छ । “शिवरात्रि, औँसी, पूर्णिमा जस्ता विशेष अवसरमा यहाँ सबै जातका श्रद्धालुहरू एकैसाथ पूजामा सहभागी हुने गर्छन्,” स्थानीय ज्येष्ठ नागरिक गणेशदत्त भट्टले बताउनुभयो, “यसले जातीय सहिष्णुता र सामाजिक एकता झल्काउँछ ।”

धार्मिक मात्र नभई पर्यावरणीय दृष्टिले पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ । देवदार वन क्षेत्रमा पाइने जैविक विविधता पछिल्ला वर्षहरूमा चरिचरन, डढेलो र अतिक्रमण जस्ता कारणले संकटमा परेको छ । समाजसेवी देवबहादुर चन्दले भने, “वन क्षेत्रको मौन चिच्याहट अब सबैले सुन्न आवश्यक छ । संरक्षणमा सबैको सरोकार आवश्यक छ ।”
हाल स्थानीय युवाहरूले वासुलिङ क्षेत्रको संरक्षण र प्रवर्धनका लागि समिति गठन गरेका छन् । उनीहरूले धार्मिक मेला, पर्यावरणीय पदयात्रा, संस्कृतिपरक प्रतियोगिता र हस्तकला प्रदर्शनीजस्ता कार्यक्रम गर्दै आएका छन् । “हामी आर्थिक तथा सांस्कृतिक पुनर्जागरणको प्रयास गरिरहेका छौँ,” स्थानीय युवा विनोद भट्टले बताए ।
समाजसेवी लबदेव भट्टले वासुलिङ क्षेत्रको महत्त्वलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार यसले भावी पुस्तामा स्थानीय संस्कृति र सम्पदा प्रतिको चेतना अभिवृद्धि गर्नेछ ।
इतिहास, संस्कृति र प्रकृतिको समन्वय बोकेको वासुलिङ क्षेत्र धार्मिक तथा पर्यावरणीय पर्यटनको आकर्षक गन्तव्य बन्ने सम्भावना बोकेको भए पनि दीर्घकालीन योजनाको अभावमा यसको सम्भावना पूर्ण रूपमा प्रस्फुटित हुन सकेको छैन ।




