नेपाल–भारत सीमानामा पर्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल भारतीय पक्षबाट बन्द गरिएको छ । पुल बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवतजावत अवरुद्ध भएको हो ।




दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार भारतको धारचुलामा भएको एक हत्या प्रकरणमा संलग्न व्यक्तिहरू नेपालतर्फ भागेको आशंकामा भारतीय नागरिकहरूले दबाबस्वरूप पुल बन्द गरेका हुन् । ‘धारचुलामा भएको हत्या प्रकरणमा संलग्न दुई व्यक्ति नेपाल पसेको भनिएको छ, तर खोजी गर्दा फेला परेका छैनन्,’ प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार भारत सरकारको निर्णय नभई स्थानीय नागरिकहरूले आफ्नै सरकारलाई दबाब दिन यस्तो कदम चालेका हुन् ।


हत्या भएको घटनाबारे जानकारी अनुसार, गत जुन ७ मा भारतको धारचुलामा कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो ।
पुल आज बिहान ११ बजेदेखि केहीबेर मात्र खुला भई फेरि बन्द गरिएको छ । दुवै देशका प्रशासनबीच समस्या समाधानका लागि समन्वय भइरहेको जनाइएको छ ।




