


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –४ ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ ।


शुक्रबार वडा कार्यालय परिसरमा आयोजित नवौँ वडा भेला मार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड १८ लाख १० हजार ७१६ रुपियाँको वार्षिक बजेट वडा अध्यक्ष हेम प्रकाश मल्लले सार्वजनिक गरेका हुन् ।



जसमा समीकरणतर्फ ७० लाख र सूत्रमा आधारित ४८ लाख १० हजार ७७१६ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडा नम्बर ४ ले पूर्वाधार विकास तर्फ ६२ लाख रुपियाँ छुट्याएको छ भने सामाजिक विकास तर्फ २१ लाख र आर्थिक विकास तर्फ १८ लाख रुपियाँ छुट्याएको छ ।
त्यस्तै वन तथा वातावरण तर्फ ४ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ १३ लाख १० हजार ७१६ रुपियाँ बराबरको बजेट छुट्याइएको छ ।
नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडावासी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।





