दलगत विभेद प्रमाणित भएमा तुरुन्तै राजीनामा दिन्छु : नगर प्रमुख भट्ट

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले आफू माथि लगाइएको दलगत पक्षपातका आरोपहरू अस्वीकार गर्दै, ती आरोपहरू प्रमाणित भएमा तुरुन्तै राजीनामा दिने घोषणा गरेका छन् ।

नगरपालिकाको वडा नं.१ मा आयोजित वडा भेलामा बोल्दै भट्टले फरक पार्टीका जनप्रतिनिधिहरूलाई बजेट नदिएको भनाइमा चुनौती दिएका हुन् । उनले भने, “एक जना त्यस्तो साथी भनिदिनुस् मलाई, म यो फलानो पार्टीको मान्छे भएकै कारणले मेयर नेपाली कांग्रेसबाट निर्वाचित भएकोले मलाई बजेट हालिदिएको छैन भनेर मेरो अगाडि आउनुस्, म अहिले पदबाट राजीनामा दिइदिन्छु ।”

उनले विकास निर्माणका कामहरूमा पार्टी आधारमा विभेद नगरेको र नगरको समग्र विकास नै आफ्नो प्राथमिकता भएको स्पष्ट पारेका हुन् । साथै, विकास नहुँदा दलगत आरोप लगाउनु अन्यायपूर्ण हुने भन्दै दोष नदिन पनि आग्रह गरेका छन् ।

Loading...