अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-२, अत्तरियामा सञ्चालनमा रहेको मिश्रा आइस क्यान्डी उद्योगबाट २५० केजी आइसक्रिम जफत गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र गोदावरी नगरपालिकाको संयुक्त अनुगमन टोलिले उत्पादन मिति उल्लेख नभएको तथा गुणस्तरहीन आइसक्रिम आज (शुक्रबार) बरामद गरेको हो ।

अनुगमनका क्रममा उद्योग नवीकरण नगरिएको, खाद्य मापदण्ड नपुगेको, उत्पादन स्थल दुर्गन्धित रहेको तथा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड समेत पालना नगरिएको पाइएको अनुसन्धान अधिकृत सुमन लामिछानेले जानकारी दिए । उनका अनुसार उद्योगले प्रयोग गरेका उपकरणहरू पनि सरसफाइ नभएको अवस्थामा फेला परे।
उक्त उद्योग धनगढी उपमहानगरपालिका–५ मा दर्ता भए पनि गोदावरी नगरपालिकामा कार्यरत रहँदा समेत त्यहाँ दर्ता नगरिएको पाइएको छ । नियमन नहुँदा सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल उद्योगमा आवश्यक सुधार गर्न चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।
नगरपालिका र कार्यालयले खाद्य सुरक्षासम्बन्धी कानुनी प्रावधानको उल्लंघन गर्ने व्यवसायिक गतिविधिमाथि कडाइका साथ निगरानी गर्ने चेतावनी दिएका छन् । यस अघि पनि यस्तै प्रकारका उद्योगहरूमा समस्या देखिएकाले नियमित अनुगमन जारी रहने जनाइएको छ ।