अत्तरिया- कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. १२ अन्तर्गत कोल्मुडा क्षेत्रमा निर्माण गरिएको मिनी पार्कको उद्घाटन बुधबार एक अनौपचारिक कार्यक्रमका बीच नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर उद्घाटन गरेका छन् । पार्क निर्माण सम्पन्न भएसँगै स्थानीयवासी र आन्तरिक पर्यटकहरूका लागि नयाँ मनोरञ्जनस्थलको विकास भएको छ ।
यस मिनी पार्क निर्माणका लागि वडा नं. १२ को गत वर्षको पाँच लाख र चालू वर्षको पाँच लाख गरी कुल १० लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो । सो बजेटमा तारबार लगाउने, मनोरञ्जनका लागि पिङ झुुला, बस्नका लागि ढुंगाका पेटी, र वरिपरिका क्षेत्रलाई व्यवस्थित बनाउने काम सम्पन्न गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले सो पार्कले नजिकै बग्ने मछेली खोलामा नुहाउन आउने तथा पिकनिक मनाउन आउने नागरिकहरूको प्रमुख गन्तव्य बन्ने विश्वास व्यक्त गरे । उनले आगामी आवमा पार्कको थप विकासका लागि आवश्यक बजेट विनियोजन गरिने, वृक्षारोपण गरिने तथा शारीरिक व्यायामका लागि फिटनेस मेसिनहरू जडान गर्ने योजना रहेको समेत जानकारी दिए ।
वडा अध्यक्ष भीम खड्काले पनि आगामी वर्षमा पार्कलाई थप सिंगार्ने र पूर्वाधार विकासमा जोड दिने बताए । उनका अनुसार दुई वटा झोलुङ्गे पुलको बीचमा, पहाडको छेउको उच्च स्थानमा रहेको यो पार्क अहिले आन्तरिक पर्यटकका लागि आकर्षक स्थलको रूपमा विकसित हुँदै गएको छ ।
खड्काले भने, “बिदाको दिनमा परिवार, बालबालिका, तथा साथीहरू सँगै पार्क अवलोकन गर्न आउनेहरूको चाप बढ्दो छ ।” साथै, उनले यो पार्कले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको बताउँदै, आर्थिक संकटका बेला पनि यस्ता साना तर महत्वपूर्ण परियोजनाले सकारात्मक सन्देश दिएको उल्लेख गरे ।
स्थानीय बासिन्दाहरूले पनि यस पहलको स्वागत गरेका छन् । उनीहरूले यस पार्कले समुदायमा सामाजिक जमघटको अवसर दिने, बालबालिकाको रमाइलोको स्थल बन्ने र पर्यावरणीय हिसाबले पनि सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।