धनगढी- कैलालीबाट १७ लाख ४६ हजार अवैध रकमसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट र टीकापुर नगरपालिका–१ उनीहरू अवैध रकमसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले गुलरीयाघाट भन्सार कार्यालय नजिकबाट भारतको उत्तर प्रदेश, लखिमपुर खिरी जिल्ला, तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्ग आठ लाख ९६ हजार ६ सय ६० नेपाली रुपैयाँसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, पृथ्वीपुरले मङ्गलवार उनलाई युपी ३२ एचएच ६५५३ नम्बरको भारतीय मोटरसाइकल सवार रहेको बेलामा पक्राउ गरेको हो । प्रहरीले उनलाई अवैध रकम र मोटरसाइकलसहित भन्सार कार्यालय, सत्ती पठाएको छ ।
त्यस्तै कैलालीको टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरी पाँच लाख ३१ हजार चार सय भारतीय रकमसहित पक्राउ परेका छन् । भारतीय रकम लुकाएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँकी पठाइएको छ ।