धनगढी- आज कैलालीको ३ र डोटीको एक ठाउँमा आगलागी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, जानकी गाउँपालिका–१, चुरे गाउँपालिका–६ र डोटीको दीपायल सिलगढी नगरपालिका–९ मा आगलागी भएको हो ।
धनगढी उपमहानगरपालिका–१३ राना टोलमा चार्जमा राखेको एक ईलोक्ट्रोनिक स्कुटीमा विद्युतको तार सर्ट भई आगलागी भएको सुदूरपश्चिम प्रदेश आपतकालिन सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ ।


आगलागी हुँदा २ लाख ७५ हजार बराबरको क्षति भएको जनाइएको छ । जानकी गाउँपालिका–१ धर्मपुरमा पाँच जनाको खेतमा राखेको परालमा आगलागी भएको छ ।
परालमा आगलागी हुँदा १६ हजार बराबरको क्षति भएको छ । यस्तै कैलालीकै चुरे गाउँपालिका–६ ओखलढुंगामा बारीमा आगो लगाउने क्रममा एक गोठमा आगलागी भएको छ । गोठमा आगलागी हुँदा ६० हजार बराबरको क्षति भएको छ ।
उता डोटीको दीपायल सिलगढी नगरपालिका–९ तल्लो कलेनामा एक पसलमा ग्याँस सिलिन्डरबाट आगलागी भएको छ । सिलिन्डरमा आगलागी हुँदा पसलभित्र रहेका खाद्यन्न, लत्ताकपडा, भाडावर्तन लगायत खुद्रा सामान जलेर ४० हजार बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।

