बझाङ- बझाङको विकट साइपाल गाउँपालिकामा पाँच दिन देखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा यहाँ स्थानीयको दैनिकीका साथै गाउँपालिका र बैंकिङ सेवा समेत प्रभावित भएको छ।
‘पाँच दिनदेखि कतै सम्पर्क गर्न पाइएको छैन,’ स्थानीय घुरन बोहराले भने, ‘कोही मान्छे बिरामी भयो, केही घटना भयो भने पनि खबर गर्न मान्छे नै दौडाउनुपर्ने अवस्था छ ।’ साइपाल गाउँपालिकाका धेरैजसो ठाउँमा एक गाउँबाट अर्को गाउँ पुग्न एक देखि दुई दिन सम्म पैदल हिँड्नुपर्छ ।

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिका र वडा कार्यालयहरूले दिने दैनिक सेवा नराम्ररी प्रभावित भएको छ । अनलाइनमा आधारित व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा जस्ता सर्वसाधारणले लिने सेवाका साथै मन्त्रालय र अन्य निकायका अनलाइन प्रणालीमा गरिने सम्पूर्ण काम बन्द भएको छ ।
‘सेवाग्राहीको सम्पूर्ण काम रोकिएको छ । कतिपय निकायको सफ्टवेयरमा गर्नुपर्ने कामहरू र तत्काल जवाफ दिनु पर्ने चिठी पत्रको प्रतिक्रिया दिन समेत पाइएको छैन,’ गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जयराज जोशीले भने, ‘सबै सेवा ठप्प छ।’
सञ्चार सेवा अवरुद्ध हुँदा यहाँस्थित बैंकले दिने भुक्तानी, नयाँ खाता खोल्ने, रकम जम्मा गर्ने लगायत सेवा समेत अवरुद्ध भएको उनले बताए । साइपालको रस्यालेकमा रहेको नेपाल टेलिकमको टावरलाई नेटवर्क सँग जोड्ने मष्टा गाउँपालिकाको भकुन्डे डाँडामा रहेको रिपिटर टावरमा चट्याङ पर्दा यो समस्या आएको नेपाल टेलिकमको बझाङ कार्यालयले जानकारी दिएको छ ।
चट्याङले रिपिटर टावरको माइक्रोवेभ, रेडियो, अडियो, सात वटा सोलार प्यानल, सोलार कन्ट्रोलर, आइटीए जस्ता उपकरण क्षतिग्रस्त बनाएको टेलिकम बझाङका प्रमुख बम बहादुर सिंहले बताए । ‘हाम्रो प्राविधिक टोली मर्मतको काम गरिरहेको छ,’ उनले भने, ‘यताबाट लगेका केही उपकरण भकुन्डे टावरमा फिट नभएकाले अर्को सामान लिएर पनि टोली गइसकेको छ । हामी छिटो सेवा सुचारु गर्ने प्रयासमा छौँ ।’