शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढे पाटेबाघ

कञ्चनपुर, १८ भदाै- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका छन्। सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ। गत जेठ महिनामा गरिएका गणनामा बाघको संख्या बृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले शुक्रबार यहाँ आयोजित कार्यक्रममा बाघको संख्या बृद्धि भएको जानकारी दिए। उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए। ‘जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको संख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ।’ उनले भने, ‘यो संख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो।’

Navadurga sun

पुनले निकुञ्जमा ११ पोथी, ६ भाले, लिङ्ग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिए। ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो। गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो। ‘गणनाअघि खटिने ३३ जना कर्मचारीलाई तालिमसमेत दिइएको थियो‚’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘गणनामा आर्थिक र प्राविधिक सहयोग जेडएसएल नामक संस्थाले गर्‍यो।’ शुक्लाफाँटामा बाघका लागि आहार प्रजातिको सहज उपलब्धता हुनु, चोरी शिकारी नियन्त्रणलगायतका कारणले वृद्धि भएको हो।

त्यसैगरी प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लक्ष्मीराज जोशीले चारैतिर मानव बस्ती र नेपाल–भारत सिमानासित समेत जोडिएकाले बाघ संरक्षणमा चुनौती रहेको बताए। सन् २०१० मा सरकारले मुलुकमा बाघको संख्या २५० पुर्‍याउने लक्ष्य लिएको बताउँदै उहाँले हाल २३५ को हाराहारीमा बाघ पुगिसकेको जानकारी दिए। २०२६ सालमा शाही शिकार आरक्ष रहेको शुक्लाफाँटा २०७३ फागुनमा सरकारले राष्ट्रिय निकुञ्जका रुपमा विकास गरेको थियो। निकुञ्जमा गत आर्थिक वर्षमा चोरी शिकारी र वन पैदावारतर्फ गरी ४१ वटा मुद्दा दायर भएको निकुञ्ज कार्यालयले जनाएको छ। जसमध्ये ३२ वटा मुद्दा फर्छ्योट भइसकेका छन्।

प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले यहाँ दरबन्दीसहितको वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता रहेको बताए। ‘बाघका लागि शुक्लाफाँटा उत्कृष्ट वासस्थानका रुपमा रहेको छ।’ उनले भने, ‘कुनै बेला यो एसियाकै सबैभन्दा बढी बाघको घनत्व भएको क्षेत्रको रुपमा परिचित थियो।’ (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...