

अत्तरिया- कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको १५ औं दिनको पुण्य तिथिमा शोक सभाको आयोजना गरिएको छ ।


बुधबार (आज) गोदावरी नगरपालिका वडा नम्बर- ४ को कार्यालयले वडाको सभाहलमा दिवंगत जोशीको सम्झनामा शोक सभाको आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।


शोक सभामा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले नगरपालिकाले एक असल अभिभावक गुमाएको बताए । सामाजिक व्यक्तित्व भएको स्मरण गर्दै उनले समाज सेवामा नै जोशीले जीवन खर्च गरेको बताए ।


शोक सभामा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर- ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले खानेपानी लगायत दर्जन संघ संस्थाहरुमा जोशीको अतुलनीय योगदान रहेको बताए । लामो समयदेखि जोशी सँग काम गरेको उनले स्मरण गर्दै उनले आफ्नो अभिभावक गुदाउँदा निकै पिडा महसुस भइरहेको बताए ।
युवा नेता लोकराज पान्डेय (आगो) ले जोशी जस्तो सहज र सरल व्यक्ति भेट्न मुस्किल हुने बताए । उनले सबै संग समान व्यवहार गर्न सक्ने व्यक्ति जोशी रहेको भन्दै उनिसंग गरेका सहकार्यहरुको स्मरण गरे । सभामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जोशीको सम्झनामा मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
गोदावरी-४ निवासी जोशीको ६८ वर्षको उमेरमा गत फागुन १५ गते निधन भएको थियो । निमोनियाको समस्याबाट ग्रसित जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अत्तरिया खानेपानीको अध्यक्षमा दोहोरिएका जोशी सिएलसी अत्तरिया, प्रतिभा पुस्तकालय, राष्ट्रिय वन महासंघ लगायत करिब एक संघ संस्थाहरुमा विभिन्न पद मार्फत समाज सेवामा सक्रिय रहेका थिए ।

