

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ मा प्रथम होरी मिलन कार्यक्रम २०८१ सम्पन्न भएको छ । “संस्कृति बचाऔँ, कुरीति हटाऔं” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रमको आर्थिक सहयोग गोदावरी नगरपालिका ९ नं. वडा कार्यालयबाट गरिएको थियो भने आयोजना बी प्लस मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. कैलालीले गरेको थियो ।


उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहनु भएको थियो भने गोदावरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामलाल राना तथा धनगढी उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष माघब राना विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी रहेको थियो ।


कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख भट्टले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक समाज भएको हुँदा हरेक समुदायले आ-आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्नु पर्ने बताए । उनले चौधरी समुदायमा माघी पर्वको विशेष रौनक रहने भए जस्तै राना थारु समुदायका लागि होली पर्व महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।
उनले गोदावरी नगरपालिका संस्कृतिको प्रवर्द्धन तथा जगेर्नाका लागि निरन्तर साथ र सहयोग गर्न तत्पर रहेको बताउँदै स्थानीय समुदायलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । यस कार्यक्रमले राना थारु समुदायको पहिचान झल्काउने मात्र नभई स्थानीय संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको आयोजकहरूले बताएका थिए ।

