

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजना हुने भएको छ । आइतवार शुक्लाफाँटा नगरपालिकामा सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेदकोट नगरपालिकाले आगामी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको हो ।




वेदकोट नगरपालिकाले प्रतियोगिता आयोजना गर्ने घोषणा गरेपछि नगर प्रमुख भोजराज बोहरालाई झण्डा हस्तान्तरण गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले बताए ।


’खेलकुद विकास समितिमा हामीले नेतृत्व गरेपछि जिल्ला स्तरीय प्रतियोगिता पालिकाहरूमा गर्ने निर्णय गरेका थियौँ । यस अन्तर्गत पहिलो पटक बेलौरी नगरपालिकामा आयोजना गरेका थियौँ । त्यसपछि क्रमशः कृष्णपुर र शुक्लाफाँटामा सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेका छौँ,’ उनले भने, ‘अब बेदकोटले जिम्मेवारी लिएको छ ।’
नगर प्रमुख भोजराज बोहराले खेलकुद क्षेत्रको विकासका लागि वेदकोट नगरपालिका प्रतिबद्ध रहेको बताए । ’राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाका खेलाडीलाई राम्रो प्लेटफर्म प्रदान गर्ने भएकाले हामीले आगामी संस्करण आयोजना गर्ने निर्णय गरेका हौं,’ उनले भने, ’नगरपालिकाले आवश्यक पूर्वाधार र व्यवस्थापनका लागि पूरा सहयोग गर्नेछ ।’

