अत्तरियामा ७ महिनाको अवधिमा अनैतिक क्रियाकलापमा संलग्न ६० जना पक्राउ 

अत्तरिया- इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चालु आर्थिक वर्षको सात महिनामा अनैतिक क्रियाकलापमा संलग्न ६० जनालाई पक्राउ गरिएको छ, जसमा २५ जना महिला र ३५ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरू दोहोरिने क्रम पनि उच्च रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले जानकारी दिए ।

कैलालीको अत्तरिया क्षेत्रमा होटलहरूको आडमा अनैतिक क्रियाकलाप बढ्दै गएको भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । केही होटल व्यवसायीहरूले होटल व्यवसायको आडमा अनैतिक गतिविधिहरू सञ्चालन गरिरहेको आरोप लागेको छ, जसले समग्र क्षेत्रको छवि धूमिल पार्ने खतरा बढाएको छ ।

डिएसपी थापाले अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताए ।  प्रहरीका अनुसार, पक्राउ परेका मध्ये धेरै जसो दोहोरिने प्रवृत्तिका छन्, जसले नियन्त्रण प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ ।
गत वर्ष चैत्र दोस्रो हप्तामा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रूपमा आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) थापाले आफ्नो परिचयात्मक कार्यक्रममा पनि यही विषय प्राथमिकताका साथ उठाइएका थिए ।

अनैतिक गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गरेका डिएसपी थापाले होटलहरूमा कडाइ गर्दै आएका छन् । यौन धन्दा सञ्चालन हुने गरेको भन्दै एक टोलको नाम ‘बदनाम गल्ली’ समेत राखिएपछि गोदावरी होटल व्यवसायी संघले आपत्ति जनाउँदै टोलको नाम परिवर्तन गरी नयाँ बोर्ड टाँसेको थियो । यस क्षेत्रलाई बदनाम हुनबाट जोगाउन यस्ता गतिविधि नियन्त्रण गर्नु प्रहरीका लागि चुनौतीपूर्ण रहेको छ ।

Loading...