अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को गौडी चोक देखि कृष्ण मन्दिर सम्म २ करोड लगानीमा नाली सहित कालोपत्रे सडक निर्माणका लागि काम सुरु भएको छ ।
चौकीडाँडा-फुल्टुडे सडक खण्ड निर्माणका लागि दुई छुट्टाछुट्टै बजेट बिनियोजन गरिएको छ । चौकीडाँडा-फल्टुडे सडकका लागि १ करोड र मालाखेती-फल्टुडे सडक खण्डका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। उक्त बजेटमार्फत सडक कालोपत्रे कार्य आजबाट सुरु भएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले पूजापाठ गरी कालोपत्रे कार्य समुद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख भट्टले विगतमा ठेकेदारको लापरबाहीका कारण सडक निर्माण कार्य अघि नबढ्दा बजेट बिनियोजनमा समस्या आएको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा यो परियोजनालाई समयमै सम्पन्न गर्न जनप्रतिनिधिहरूले निरन्तर खटिएको बताए । साथै, चौकीडाँडा-फुल्टुडे सडक खण्डका लागि थप ४ करोड बजेट विनियोजन भइसकेको र कालोपत्रे सम्पन्न भएपश्चात अत्तरियासम्मको यात्रा सहज हुने जानकारी दिए। आगामी बजेटबाट कोल्मुडा सम्म कालोपत्रे सडक निर्माणका लागि प्रक्रिया अघि बढाइएको उनले बताएका छन ।
त्यसैगरी वडा अध्यक्ष भिम खड्काका अनुसार यस ठाउँबाट निर्वाचित भएका संघिय सांसद बिर बहादुर बलायर र नगर प्रमुख बिरेन्द्र भट्टको अथक प्रयास पश्चात यस पाली चौकीडाँडा – फुल्टुडे सडक खण्डका लागि सँघको बजेट बिनियोजन गर्न सफल भएको र ठेकेदार साथीहरुले समयमा नै काम सकाउने प्रतिबद्धता दिएकोले वडावासी खुसी भएको बताएका छन ।
त्यसैगरी वडा न. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाका अनुसार यस सडक खण्डलाई मुर्त रुप दिनका लागि र यस क्षेत्रका जनताका माग सम्बोधनका लागि सडक संजाल कालोपत्रे हुदै गर्दा उपलब्धी मूलक काम भएको बताएका छन ।
कालोपत्रे सडक निर्माणका लागि ठेक्का लिएका रानादेव कन्स्ट्रक्सन र श्रीपुर बिल्डर्सका प्रतिनिधिहरूले गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। श्रीपुर बिल्डर्सका डम्बर चन्दले समयसीमा भित्रै पक्की सडक तयार गरी स्थानीय जनतालाई सुविधा उपलब्ध गराउने आश्वासन दिए ।
गौडी चोकदेखि कृष्ण मन्दिरसम्मको कालोपत्रे सडक निर्माणले स्थानीय यातायातमा सुधार ल्याउनुका साथै चौकीडाँडा-फुल्टुडे सडक खण्डले अत्तरिया क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।