गोदावरी नगरपालिका-१२ ले आमा समूहलाई मौलिक पोसाक वितरण गर्‍यो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-१२ ले मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आमा समूहका महिलाहरूलाई सुदूरपश्चिमको मौलिक पोसाक वितरण गरेको छ । वडाले गुन्यु, चोलो, पछ्यौरा, पोते, र डोरीलगायतका परम्परागत सामग्रीहरू वितरण गरेको हो ।

वडाध्यक्ष भीम बहादुर खड्काका अनुसार वडामा सुदूरपश्चिमको मौलिक पहिचानलाई जर्गेना गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो। उनले भने, “मौलिक संस्कृति जोगाउन र आगामी पुस्तालाई परम्पराको ज्ञान दिन यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।”

udhok dadeldhura

वडाले विशेष गरी रनपुतला खेल्ने ३० जना महिलालाई पोसाक वितरण गरेको छ । चालु आर्थिक वर्षमा यसका लागि वडाले १ लाख रुपैयाँ बजेट विनियोजन गरेको र सोही बजेटबाट सामग्री वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए ।

शुक्रबार आयोजित कार्यक्रममा पोसाक हस्तान्तरण गरिएको थियो । कार्यक्रमपछि महिलाहरूले शनिबार रनपुतला खेल्ने तयारी गरिरहेका छन् । वडाध्यक्षले यस्तो सांस्कृतिक कार्यक्रमले समुदायमा एकता र परम्परागत ज्ञानप्रति गर्वको भावना बढाउने विश्वास व्यक्त गरे ।

मौलिक पोसाक पाएका महिलाहरू उत्साहित देखिएका छन् । उनीहरूले वडाको यो पहलले आफ्नो सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुग्ने भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

गोदावरी नगरपालिका-१२ मा मौलिक सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्ने यो कदमलाई स्थानीयहरूले पनि स्वागत गरेका छन् । वडाले आगामी दिनमा अन्य परम्परागत सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

Loading...