धनगढी । कैलालीका विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार शनिबार जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीमा ५ जना नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, टीकापुर नगरपालिका–२, विजयनगरस्थित भित्री सडक खण्डबाट टीकापुर नगरपालिका – १ विजयनगरका २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै, शनिबार साँझ गोदावरी नगरपालिका–१, भगतपुरबाट २९ वर्षीय बिरेन्द्र चौधरीलाई २१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै, धनगढी उपमहानगरपालिका–३, ब्यारेल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने ३४ वर्षीय दीपक चदारालाई ४२० मिलिग्राम लागू औषधसहित नियन्त्रणमा लिइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो।
त्यसैगरी, धनगढी उपमहानगरपालिका–४, बसपार्कबाट दार्चुलाको व्यास गाउँपालिका–६ खातीगाउँ बस्ने २६ वर्षीय रविन्द्र सिंह भण्डारीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।