कृष्णपुरमा १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि कञ्चन माविले जित्यो, दोश्रो जेबी एकेडेमी
अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार अवेर राति सम्पन्न भएको नगरस्तरीय प्रतियोगितामा वडा न. ७ मा शान्तिपुरमा रहेको कञ्चन माध्यमिक विद्यालयले १७ स्वर्ण, ५ रजत र १० कास्य गरी ३२ पदक जित्दै उपाधि जितेको हो ।
त्यस्तै वडा न. २ वाणीमा रहेको जेबी एकेडेमीले दोश्रो स्थान हाँसिल गरेको छ । जेबी एकेडेमी ७ स्वर्ण, ९ रजत र १३ कास्य गरी २९ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ ।
६ स्वर्ण, २ रजत र ४ कास्य गरी १२ पदकका प्राप्त गर्दै वडा नं.५ मा गुलरिया रहेको कञ्चनजंगा इ.बो.स्कुलले तृतिय स्थान हाँसिल गरेको छ भने ५ स्वर्ण, ३ रजत र ३ कास्य गरी ११ पदक जितेको उदय मावि बंकले चौथो स्थान हाँसिल गरेको छ । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरी, नगरप्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना, वडा न २ का अध्यक्ष अर्जुन साउँदले मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन ।
प्रमुख अतिथि प्रदेश सभा सदस्य गीता चौधरीले प्रतियोगितामा तीन दिनसम्म विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र विद्यालयप्रति आभार व्यक्त गरिन्। उनले छनोट भएका खेलाडीहरू जिल्ला स्तरमा नगरको नाम राख्ने र राष्ट्रिय स्तरमा कञ्चनपुरको पहिचान दिलाउने विश्वास व्यक्त गरिन् । प्रतियोगितामा छनोट हुन नसकेका खेलाडी र विद्यालयलाई आगामी दिनमा सहभागी जनाएर उत्कृष्ट प्रदर्शन गर्नेछन् भन्ने आशासँगै शिक्षालाई निरन्तरता दिन आग्रह गरेकी थिइन् ।
नगरप्रमुख हेमराज ओझाले प्रतियोगिताको सफल आयोजना गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिंदै आगामी १६औं संस्करणको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता नगरपालिका पूर्व क्षेत्रका विद्यालयहरूमा आयोजना गरिने जानकारी दिए ।
महत्त्वपूर्ण योगदान र भविष्यका योजनाहरू प्रतियोगितामा साना र ठूला विद्यालयहरूको सहभागिताले खेलकुद क्षेत्रको महत्वलाई उजागर गरेको नगरप्रमुखले बताए । यस सफल आयोजनाले नगरभित्रका विद्यालयहरूमा शैक्षिक र खेलकुद गतिविधिको सूचाङ्क सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका थियो ।
यस प्रकारका प्रतियोगिताले नगरस्तरीय खेलकुद प्रतिभाको पहिचान मात्र होइन, खेलकुद र शिक्षाको समन्वयलाई थप राम्रो बनाएर लैजाने नगरप्रमुख ओझाले बताए । १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा १४ सामुदायिक र १२ संस्थागत गरी कुल २६ विद्यालय सहभागी थिए ।
प्रतियोगिता कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कृष्णपुर वडा न.२ वाणीमा रहेको सरस्वती माविको खेल मैदानमा सम्पन्न भएको हो ।