धनगढीमा भोलीबाट सुरु हुने राष्ट्रपति रनिङ शिल्डमा साढे एघार सय विद्यार्थी सहभागी हुँदै

अत्तरिया- धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १ हजार १५३ खेलाडी विद्यार्थी सहभागी हुने भएका छन् । भोली (बुधवार) बाट सुरू हुने प्रतियोगितामा धनगढीका ४१ विद्यालयका विद्यार्थी सहभागी हुने भएका हुन् ।

आज (मङ्गलवार) गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे नगर उपप्रमुख कन्दकला कुमारी रानाले जानकारी दिएकी हुन् । उनले १५ औं राष्ट्रपति रनिङ शिल्ड पुस २४ देखि २८ गतेसम्म धनगढी रङ्गशालामा आयोजना गरिने जानकारी दिइन् ।

यो पटक प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुने भएका छन् । यो पटक ६ वटा विधाको ५२ वटा इमेन्टमा खेलहरु खेलाइने उपप्रमुख रानाले बताइन् । राष्ट्रपति रनिङ शिल्डमा यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका इभेन्ट हुने भएका छन् ।

प्रत्यक विधामा छात्र र छात्राले अलग–अलग प्रतिस्पर्धा गर्ने उपप्रमुख रानाले बताइन् । यो पटक राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट ८ लाख बजेट विनियोजन गरेको उपप्रमुख रानाले बताइन् ।

Loading...